फिफा फुटबल फर स्कुलको कार्यक्रम हुने
काठमाडौँ, १२ साउन । बालबालिकाको शिक्षा, विकास तथा फुटबल प्रतिको मायालाई दर्शाउन उद्देश्यले फिफा फुटबल फर स्कुलको कार्यक्रम आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा सो कार्यक्रम आयोजन गन लागेको जानकारी दियो । फिफा फुटबल फर स्कुलको कार्यक्रमको औपचारिक शुभारम्भ यहि साउन १५ गते (जुलाई ३१, २०२५) मा दशरथ रंगशालामा हुनेछ ।
फुटबल फर स्कुल कार्यक्रम फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित एक कार्यक्रम हो जसले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुरÞ्याउने लक्ष्य राखेको जनाइएको छ ।
एन्फाका महासचिव किरण राईले चार देखि १४ वर्षको बालबालिकालाई लक्षित गरि आयोजना गरेको बताए । उहाँका अनुसार ३२ हजार फुटबल फिफाबाट सहयोगलाई प्राप्त भएको छ । यो करिव १५ करोडको सामाग्री हो । फुटबलको माध्यमबाट बालकालिकाको क्षमता अभिबृद्धि गर्ने उद्देश्य सहित यो कार्यक्रममा सहभागि विद्यालयलाई सामाग्री वितरण गरिनेछ ।
सो कार्यक्रम अन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण गर्ने बाहेक प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम पनि दिइनेछ ।
नेपालमा यो कार्यक्रममा देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा ३२,६४० वटा फुटबल वितरण गरिने योजना रहेको जनाइएको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।