लिभरपुललाई हराएर क्रिस्टल प्यालेस कम्युनिटी शिल्ड जित्न सफल
लन्डन, २६ साउन । क्रिस्टल प्यालेसले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई टाइब्रेकर ३–२ मा स्तब्ध बनाएर कम्युनिटी शिल्डको उपाधि जितेको छ । क्रिस्टल प्यालेसले पहिलो पटक कम्युनिटी शिल्ड जितेको हो । प्रिमियर लिग च्याम्पियन र एफए कप च्याम्पियन बिच फुटबल सत्रअघि ‘कर्टन रेजर’को रुपमा कम्युनिटी शिल्ड उपाधि भिडन्त हुने गर्दछ ।
क्रिस्टल प्यालेसले लगातार दोस्रो पटक उपाधि भिडन्तमा ठूला क्लबलाई निराश बनाएको हो । यसअघि क्रिस्टल प्यालसले म्यान्चेस्टर सिटीलाई हराएर एफए कप जितेको थियो ।
क्रिस्टल प्यालेस दुई पटक पछाडि परेर पनि कम्युनिटी शिल्ड च्याम्पियन बन्न सफल भएको हो । निर्धारति समयको खेल २–२ ले बराबरीमा सकिएको थिया । प्रिमियर लिग च्याम्पियन क्लबका लागि नयाँ खेलाडीहरु ह्युगो इकिटेके र जेरेमी फ्रिम्पोङले गोल गरेर लिभरपुललाई अगाडि पारेका थिए । क्रिस्टल प्यालेसका लागि जिन फिलिप माटेटा र इस्माइल सारले गोल फर्काए ।
त्यसपछि पेनाल्टी सुटआउटमा लिभरपुलका सुपर स्टार मोहम्मद सलाहले गोल गर्न सकेनन् । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र हार्भी इलियोटको प्रहार प्यालेसका गोकिपर डिन हेन्डरसनले जोगाए । एएफपी