स्थानीय सरकारको गरिमा र जिम्मेवारी व्यापक छ : राष्ट्रपति पौडेल

सुनसरी, ६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा निकै गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित ‘लौकही सिटी हल’को आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहनालाई केन्द्रमा राखेर विकासका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । “शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधानले राखेको उद्देश्य पूरा हुन्छ,” उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र आदर्श अनुरूपका कार्यहरू सबल बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा आधुनिक र बहुउपयोगी सिटी हल निर्माण हुनु सराहनीय रहेको बताउँदै उहाँले यो परियोजना विकासमा तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय) बीचको सहकार्यको उत्कृष्ट नमुना भएको बताउनुभयो ।

सप्तकोशी नदी किनारको धार्मिक तथा ऐतिहासिक महत्त्वबारे चर्चा गर्दै राष्ट्रपतिले कुशाहाघाट क्षेत्रको सम्बन्ध नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको स्मरण गर्नुभयो । उहाँले बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा जस्ता प्रसिद्ध धार्मिक स्थलहरू यसै क्षेत्रको सामीप्यमा रहेकाले यसलाई पर्यटकीय हबका रूपमा विकास गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

विसं २०६५ को विनाशकारी कोशी बाढीले विस्थापित भएको यस क्षेत्रमा पुनः बस्ती स्थापित भएर विकासका गतिविधि अघि बढेको देख्दा आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलले बताउनुभयो । कोशी किनारका बस्तीहरू अझै पनि जोखिमयुक्त रहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारले बाढीपीडित र जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनको पूर्व तयारीमा विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।