सी–पुटिन भेटवार्ता: चीन–रुस सम्बन्धलाई ‘रणनीतिक रूपमा बलियो’ बनाउने उद्घोष
एजेन्सी, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा महत्वपूर्ण भेटवार्ता गरेका छन्। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई शक्तिशाली नेताले चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको दाबी गर्दै आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिएका हुन्।
गत साता चीन भ्रमणमा आएका ट्रम्पलाई बेइजिङले भव्य स्वागत गरे पनि हर्मुज जलघाँटी र आर्थिक मुद्दामा ठोस उपलब्धि ननिस्किएका कारण सो भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको थियो। त्यसको लगत्तै भएको पुटिनको भ्रमणलाई दुवै देशबीच व्यावहारिक र रणनीतिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।
युक्रेन युद्धका कारण पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि थप निर्भर बनेको छ। मध्यपूर्वमा जारी अमेरिका–इजरायल–इरान द्वन्द्वका कारण तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रुसले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरिरहेको छ।
भेटका क्रममा पुटिनले मङ्गोलिया हुँदै चीनसम्म ल्याइने प्रस्तावित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउन जोड दिएका छन्। यस परियोजनालाई मध्यपूर्वबाट समुद्री मार्ग हुँदै आउने ऊर्जाको सुरक्षित स्थलीय विकल्पका रूपमा हेरिएको छ।
बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भएको वार्ताका क्रममा राष्ट्रपति सीले ‘एकपक्षीय र प्रभुत्ववादी प्रवृत्ति’ अनियन्त्रित रूपमा फैलिरहेको भन्दै अप्रत्यक्ष रूपमा अमेरिकाको आलोचना गर्नुभयो। उहाँले रुससँगको राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, राष्ट्रपति पुटिनले प्रतिकूल बाह्य परिस्थितिहरूका बाबजुद चीन–रुस सम्बन्ध ‘अभूतपूर्व उचाइमा’ पुगेको बताउनुभयो। पश्चिमा राष्ट्रहरूसँगको दूरी बढ्दै गएपछि पुटिनको यो भ्रमणलाई रणनीतिक सुरक्षा र आर्थिक स्थिरताका लागि महत्वपूर्ण मानिएको छ।
भेटमा मध्यपूर्वको तनावबारे पनि छलफल भएको थियो। हर्मुज जलघाँटी बन्द हुँदा तेलको मूल्य बढ्ने भएकाले रुसले त्यसबाट आर्थिक लाभ लिन खोजेको विश्लेषण भइरहँदा चीन भने चिन्तित देखिएको छ। सिङ्गापुरका विश्लेषक जेम्स चारका अनुसार, चीन आफ्नो आर्थिक गतिविधि कायम राख्न विश्वका प्रमुख समुद्री मार्गहरूको निर्बाध सञ्चालनमा निर्भर छ।
राष्ट्रपति सीले मध्यपूर्वमा थप शत्रुता ‘अस्वीकार्य’ भएको बताउँदै व्यापक युद्धविराम अत्यन्त जरुरी रहेकोमा जोड दिनुभएको छ। बेइजिङले युक्रेन युद्धमा पनि आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै आएको छ, यद्यपि उसले रुसी सैन्य कारबाहीको खुला आलोचना गरेको छैन।
वासिङ्टनस्थित ब्रुकिङ्स संस्थाकी विश्लेषक प्याट्रिसिया किमका अनुसार, ट्रम्पको भ्रमणभन्दा पुटिनको भ्रमण बाह्य रूपमा कम आकर्षक देखिए पनि यसको रणनीतिक र संरचनात्मक महत्त्व बढी रहेको छ। दुवै देशले आफ्नो सम्बन्धलाई चीन–अमेरिका सम्बन्धभन्दा बढी स्थिर र भरपर्दो ठानेका छन्।