मल अभाव समाधान गर्न प्रधानमन्त्रीको ३ दिने अल्टिमेटम, स्वदेशमै कारखाना खोल्नेसम्मका ३ बुँदे निर्देशन जारी

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानले हरेक वर्ष भोग्दै आएको रासायनिक मलको अभावलाई तत्काल सम्बोधन गर्न ३ दिने अल्टिमेटमसहित कडा निर्देशन दिनुभएको छ।

सिंहदरबारमा आज कृषि तथा उद्योगमन्त्रीसहितका उच्च अधिकारीहरूसँगको गहन छलफलपछि प्रधानमन्त्री ओलीले मल आपूर्ति, प्राङ्गारिक मल प्रवर्द्धन र स्वदेशमै मल कारखाना स्थापनाका विषयमा ३ बुँदे निर्देशन जारी गर्नुभएको हो। उहाँले यी विषयमा ठोस योजना तीन दिनभित्र पेस गर्न निर्देशन दिनुभएको छ।

प्रधानमन्त्रीले दिनुभएको ३ बुँदे निर्देशनहरू:
१. तत्काल मल आपूर्ति: रासायनिक मलको आपूर्ति व्यवस्थालाई चुस्त र भरपर्दो बनाउन नयाँ र प्रभावकारी ढाँचासहितको ठोस योजना तत्काल पेस गर्ने।

२. प्राङ्गारिक मललाई प्रोत्साहन: कम्पोस्ट र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउन राष्ट्रिय अभियान सञ्चालन गर्ने र त्यसका लागि अनुदान नीतिको स्पष्ट प्रस्ताव ल्याउने।

३. स्वदेशमै मल कारखाना: नेपालको माटो सुहाउँदो र उर्वराशक्ति संरक्षण गर्ने किसिमको रासायनिक मल कारखाना स्वदेशमै स्थापना गर्न विस्तृत अध्ययनको खाका तयार पार्ने।

छलफलमा प्रधानमन्त्री ओलीले मलको समस्या अब दोहोरिन नहुने भन्दै दीर्घकालीन समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यी निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे तीन दिनपछि आफैंले जानकारी लिने पनि स्पष्ट पार्नुभयो।