जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छः गृहमन्त्री लेखक

काठमाडौँ, ८ भदौ। गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाजको परिकल्पना असम्भव भएको बताउँदै नेपालमा द्वन्द्वको स्वरूप बदलिएको र अब स्थानीय तहहरूबीच नयाँ चुनौतीहरू देखा पर्न थालेको औंल्याउनुभएको छ।

‘नेपालमा शान्ति निर्माणका चुनौती’ विषयक एक कार्यशालालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “द्वन्द्वरहित समाज कसैले भन्छ भने त्यो काल्पनिक हो, यथार्थ होइन। जहाँ द्वन्द्व छ, त्यहाँ समाधान पनि हुन्छ। मुख्य कुरा द्वन्द्वको सही व्यवस्थापन गर्नु हो, जसका लागि कहिलेकाहीँ सम्झौता पनि आवश्यक पर्छ।”

उहाँले पछिल्लो समय संघीयता कार्यान्वयनसँगै पालिकाहरूबीच प्राकृतिक स्रोतसाधनको बाँडफाँट र सिमानाका विषयमा विवादहरू बढ्दै गएकोतर्फ संकेत गर्नुभयो। “संविधानले गरेको अधिकारको बाँडफाँटले नै नयाँ द्वन्द्व सिर्जना गरिरहेको छ। यस्ता सम्भावित द्वन्द्वलाई समयमै व्यवस्थापन गर्न नसके यसले जटिल रूप लिन सक्छ,” उहाँले भन्नुभयो।

विस्तृत शान्ति सम्झौताको वार्ता टोलीमा रहँदाको अनुभव स्मरण गर्दै गृहमन्त्री लेखकले २०६३ मंसिर ५ पछि देशले सशस्त्र द्वन्द्वबाट शान्तिमा फड्को मारेको बताउनुभयो।

नेपालको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै उहाँले एक मार्मिक टिप्पणी गर्नुभयो। “धेरै स्कुल, कलेज र सडक बनाउनु राम्रो कुरा हो, तर धेरै संविधान बनाउनु खराब हो,” उहाँले भन्नुभयो, “नेपालले सात दशकमा सातवटा संविधान बनायो। यसले हाम्रो देश कति धेरै अस्थिरता र द्वन्द्वबाट गुज्रियो भन्ने स्पष्ट पार्छ।”