फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

एजेन्सी, ८ साउन । फ्रान्सले १५ वर्षमुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस ऐतिहासिक निर्णयप्रति ऐक्यबद्धता जनाउँदै बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन यो कदम चालिएको बताउनुभएको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राष्ट्रपति म्याक्रोनले यस विधेयकको समर्थन गर्ने सांसदहरूलाई धन्यवाद दिनुभएको छ। उहाँले बालबालिकाको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै संवैधानिक परिषद्को अन्तिम स्वीकृतिका आधारमा यस निर्णयलाई छिट्टै कार्यान्वयनमा ल्याइने स्पष्ट पार्नुभयो। सञ्चारमाध्यम सिएनएनका अनुसार यो कानुन लागू भएसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली सङ्घ (ईयू) को पहिलो राष्ट्र बन्नेछ।

यसअघि गत जुन महिनामा संयुक्त अधिराज्य (बेलायत) ले पनि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। बेलायतका पूर्वप्रधानमन्त्री कीर स्टारमरले यस निर्णयलाई समयको आवश्यकता र देशका लागि महत्त्वपूर्ण कदम भनी सम्बोधन गर्नुभएको थियो। उहाँले सामाजिक सञ्जालका कारण बालबालिकाहरू खेलकुद, पर्याप्त निद्रा र पारिवारिक समयबाट टाढिँदै गएको र उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुगेको उल्लेख गर्नुभएको थियो।

क्योडो न्युजका अनुसार जुन महिनाको सुरुमा जापानले पनि कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण र केही सुविधाहरूमा प्रतिबन्ध लगाउन सामाजिक सञ्जाल सञ्चालकहरूको जिम्मेवारी सुदृढ बनाउने उपायहरू अघि सारेको थियो।

अष्ट्रेलियाले गत वर्ष नै १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ भने स्पेन र डेनमार्क लगायतका देशहरूले पनि यस्तै किसिमको निर्णय लिनेबारे विचार गरिरहेका छन्।