नेपाल सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौँ, ९ असोज । नेपालको बिहिबार भारतसँग ३–० ले पराजित भएपछि साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा पुग्नबाट वञ्चित भएको छ । श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङगशालामा भएको सेमिफाइनलमा भारतका लागि गुनलिबा वाङखेरियाक्पाम, अज्लान सा र डायमन्ड सिंहले गोल गरे । भारत उपाधि रक्षा अभियानमा रहकेो छ ।
नेपाल लगातार दोस्रो संस्करणमा भारतसँग सेमिफाइनल पराजित भएको हो । पछिल्लो संस्करणमा नेपाललाई भारतले ४–२ ले हराएको थियो । त्यसपछि बङगलादेशलाई २–० ले हराएर भारत साफ यु १७ च्याम्पियन बनेको थियो । शनिबार भारत र बङगलादेशले पुन उपाधि भिडन्त गर्नेछ । बिहिबारै भएको पहिलो सेमिफाइनलमा बङगलादेशले पाकिस्तानलाई २–० ले पराजित गरेको थियो ।
खेलको ६१ औँ मिनेटमा गुनलिबाको गोलबाट भारतले अग्रता बनाएको थियो । खेलको ८० औँ मिनेटमा स्थानापन्न खेलाडी अज्लानले र इन्जुरी समयमा डायमन्डले गोल गरे । पहिलो सेमिफाइनलमा बङगलादेशका लागि खेलको तेस्रो मिनेटमा नाजमुल हुडा फैजल र चौथो मिनेटमा ओपु रहमानले गोल गरेका थिए ।
समूह चरणमा नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलङ्कालाई २–० ले हराएको थियो । यद्यपि नेपाल दोस्रो खेलमा बङगलादेशसँवग ४–० ले पराजित भएको थियो । यस उमेर समूहमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । यद्यपि नेपाल चार पटक फाइनल खेलेको छ । सन् २०१३, २०१७, २०१९ र २०२२ मा नेपाल फाइनलमा पराजित भएको थियो ।