‘राष्ट्रिय चलचित्र दिवस’ को भव्यताका साथ देशभरि उत्सव

काठमाडौँ, असोज १५ । नेपाल सरकारले असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरेपछि नेपाली चलचित्रकर्मीहरूले खुसीयाली मनाउँदै देशव्यापी रूपमा यो दिवस मनाएका छन् । वि.सं. २०२२ असोज १५ गते पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको ऐतिहासिक दिनलाई स्मरण गर्दै यो दिवस मनाउने निर्णय भएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, आज देशभरका चलचित्रकर्मीले यस विशेष दिनलाई उत्सवका रूपमा मनाएका छन् । “यस ऐतिहासिक दिनको महत्त्वलाई दृष्टिगत गर्दै हरेक वर्ष असोज १५ गते चलचित्र दिवस मनाउने प्रस्ताव गरेका थियौँ ।” अध्यक्ष डिसीले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो प्रस्ताव स्वीकार गरी मन्त्रिपरिषद्बाट निर्णय भएसँगै हामी आधिकारिक रूपमा चलचित्र दिवस मनाइरहेका छौँ ।”
यस वर्ष बडादशैँको अवसर परेकाले औपचारिक कार्यक्रम गर्न नसकिए पनि चलचित्रकर्मीहरूले भर्चुअल माध्यमबाट खुसियाली साटेका छन् । सामाजिक सञ्जालमा चलचित्रकर्मीहरूले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउँदै सन्देशहरू प्रवाह गरिरहेका छन् । यस निर्णयसँगै ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’ मध्ये कुनलाई पहिलो नेपाली चलचित्र मान्ने भन्ने लामो समयदेखिको अन्योल पनि समाप्त भएको छ अध्यक्ष डिसीले प्रस्ट पार्नुभयो ।
आजकै दिनदेखि नेपाली चलचित्रले छ दशकको यात्रा पूरा गरेको छ । पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, माओवादी सशस्त्र द्वन्द्व हुँदै हालको डिजिटल युगसम्म आइपुग्दा नेपाली चलचित्रले अभूतपूर्व विकासको साक्षी बनेको छ । वि.सं. २०३६ पछि निर्माण भएका ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘वासुदेव’, ‘साइनो’ जस्ता चलचित्रहरूले चलचित्र निर्माणको गतिलाई तीव्र बनाए ।
सूचना प्रविधिको चमत्कारिक विकास तथा विस्तार भइरहेको अवस्थामा, वि.सं. २०६३ मा तत्कालीन द्वन्द्वरत माओवादी पक्ष शान्ति प्रक्रियामा आएसँगै नेपाली चलचित्रले ‘सेलुलोइड’ प्रविधिबाट ‘डिजिटल’ प्रविधिमा फड्को मारेको थियो । प्रविधिको विकासका कारण अहिले नेपालमा मात्र नभई विश्वभर नेपाली चलचित्र एकसाथ प्रदर्शन गर्न सम्भव भएको छ ।