एमालेकाे सचिवालय बैठक आज बस्दै, केन्द्रीय कमिटी बैठक सर्‍यो

भक्तपुर, २४ असाेज । नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक आज ११ बजे गुण्डुमा बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक आयोजना गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ ।

बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ ।

यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको सचिवालय बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।