सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, चाँदीको भाउ घट्यो

काठमाडौं, २९ असोज। नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ। बुधबार सुनको मूल्य तोलामा थप ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले बढी हो। मंगलबार सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबारयता सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच, चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।