एमाले महासचिव पोखरेलद्वारा न्यायालयमाथिको आक्रमणलाई ‘कानुनी व्यवस्था खल्बल्याउने षड्यन्त्र’को संज्ञा
दाङ, १३ कात्तिक । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जेन–जी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको टिप्पणी गर्नुभएकाे छ ।
प्रेस चौतारी दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गर्नुभयाे । ‘जेन–जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन’, उहाँले भन्नुभयाे, ‘कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम हो ।’
जेन–जी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्त्वले घुसपैठ गरेको आरोप लगाउनुभयाे।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजीओ र आइएनजीओको भएको समेत दाबी गर्दै सरकारले गैरसरकारी संस्थालाई जेन–जी आन्दोलनको ‘स्टेकहोल्डर’ बनाएको भन्दै नेपालको संविधानले गैरसरकारी संस्थालाई आन्दोलनको ‘स्टेकहोल्डर’ बन्ने परिकल्पना नगरेको दाबी गर्नुभयाे ।
आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताउनुभयाे ।