गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडिओ सार्वजनिक गर्ने प्रहरी हवल्दार पक्राउ

जनकपुरधाम, ८ भदौ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका मुख्य आरोपीको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेका छन् । उनलाई हाल प्रहरी हिरासतमा राखिएको छ । हत्याका आरोपी सुमन थापाको बयान लिने क्रममा मर्यादा र प्रहरी प्रोटोकलविपरीत भिडिओ खिचेर सामाजिक सञ्जालमा भाइरल बनाएको आरोपमा विकलाई पक्राउ गरिएको हो । उनलाई फौजदारी कसुरअन्तर्गत नै कानुनी कारबाही अघि बढाउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

अनुसन्धानको गोपनीयता भङ्ग गर्दै भिडिओ बाहिरिएपछि नेपाल प्रहरीको व्यावसायिकतामाथि चौतर्फी प्रश्न उठेको छ । यसै सन्दर्भमा प्रहरी मुख्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर र प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेमाथि पनि छानबिन सुरु गरेको छ ।

भिडिओ खिच्ने र सार्वजनिक गर्ने कार्यमा पाँच जना प्रहरीको समूह संलग्न रहेको प्रारम्भिक आशङ्का गरिएको छ । पक्राउ परेका विकबाहेक अन्यको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ ।