एन्टिबायोटिक रेसिस्टेन्सबाट बच्न जथाभावी औषधि नखानु
काठमाडौँ, मङ्सिर २ । आजदेखि विश्व प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) सचेतना सप्ताह नेपालमा पनि मनाइँदैछ । यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले भिडियो सन्देशमार्फत जथाभावी औषधिको सेवन नगर्न आग्रह गर्नुभएको छ ।
मन्त्री डा. गौतमले चिकित्सकले सिफारिस गरेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा मात्र सेवन गर्न अनुरोध गर्दै अनावश्यक रूपमा जथाभावी एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न आग्रह गर्नुभयो। उहाँले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्सको अवस्था सिर्जना हुने र चिकित्सकको सल्लाहबिना यस्ता औषधि सेवन नगर्न सुझाव दिनुभयो।
सन्देशमा मन्त्री डा. गौतमले सामान्य औषधिले काम नगरेर एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको प्रयोगले पनि बिमारी निको नहुने अवस्था आउन सक्ने र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताउनुभयो। “हामीलाई सामान्य औषधिले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ। त्यसैले हामीले जँचाएर आवश्यक मात्रामा र आवश्यक औषधि मात्रै प्रयोग गर्नुपर्छ” उहाँले भन्नुभयो । जथाभावी एन्टिबायोटिक औषधि किनेर खाने, खाद्य सामग्रीमा मिसाएर खाने र पशुपन्छीको आहारका रूपमा खुवाउँदा पनि एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्ने उहाँले बताउनुभयो ।
मन्त्री डा. गौतमले अस्पतालमा आउने बिरामीहरूमा विभिन्न औषधिले काम नगर्दा अति कडा खालका औषधि दिनुपर्ने र त्यो औषधिले पनि निको नहुने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो। उहाँले सबैको सहभागितामा मुलुकबाट प्रतिजैविक प्रतिरोध कम गर्न सक्रिय भूमिका खेल्न अनुरोध गर्नुभयो ।
यस्तै, सप्ताहकै अवसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले विवेकपूर्ण तरिकाले औषधि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रतिजैविक प्रतिरोध स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै गएको र यसलाई समयमै सम्बोधन गर्न नसके भविष्यमा स्वास्थ्य प्रणालीले नराम्रो क्षति व्यहोर्नुपर्ने हुन सक्ने बताउनुभयो। एन्टिमाइक्रोबियल रेसिस्टेन्सको चुनौती सामना गर्न एन्टिमाइक्रोबियल स्टिवार्डसिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।
“हामीले स्वास्थ्य संस्थाहरूमा औषधि प्रयोगको निगरानी, डेटा/तथ्याङ्क अभिलेख र चिकित्सकहरूको क्षमता विकासलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “एन्टिमाइक्रोबियल स्टिवार्डसिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा हो जसमा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता अत्यावश्यक छ।”
मन्त्रालयले औषधिको प्याकेटमा रातो धर्का दिइएका औषधि स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सनबिना सेवन नगर्न आग्रह गरेको छ। ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह देशव्यापी रूपमा मनाइँदैछ। सप्ताह मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ।