वाग्मतीमा पुँजीगत खर्च निराशाजनक
काठमाडाैं, ३ मङ्सिर । वाग्मती प्रदेशको पुँजीगत खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल बजेटको ७.२७ प्रतिशत मात्र खर्च भएको छ, जसले आर्थिक वृद्धिमा चुनौती थपेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार, चालु आवका लागि प्रदेश सरकारले विनियोजन गरेको ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँमध्ये चार महिनामा जम्मा ४ अर्ब ९० करोड ३५ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ ।
बजेट खर्च गर्ने मामिलामा प्रदेशसभा सचिवालय सबैभन्दा अगाडि देखिएको छ, जसले २७ प्रतिशत बजेट खर्च गरेको छ । त्यसैगरी, प्रदेश लोकसेवा आयोगले २०.९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६.९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६.३७ प्रतिशत बजेट खर्च गरेका छन् ।
तर, संस्कृति तथा पर्यटन मन्त्रालयको खर्च भने सबैभन्दा कम देखिएको छ, जसले जम्मा १.१४ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।