सीमामा कडाइपछि रोकियो भारतीय अवैध अण्डा, किसानले बल्ल पाए उत्पादन लागत मूल्य
चितवन, ७ मङ्सिर । भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा हुने गरेको अण्डाको आयात रोकिएको छ। यसको प्रत्यक्ष प्रभावस्वरूप नेपाली किसानले उत्पादन लागत मूल्य पाउन थालेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आज (बिहीबार) बाट लागू हुनेगरी अण्डाको समर्थन मूल्यमा भारी वृद्धि गरेको छ।
अवैध भारतीय अण्डा नभित्रिएपछि नेपाली अण्डाको बजारले लागत मूल्य सुनिश्चित गरेको व्यवसायीहरूले बताएका छन्।
प्रति क्रेट ५५ रुपैयाँले वृद्धि
नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर जारी गरेको नयाँ मूल्यसूचीमा प्रतिक्रेट (३० वटा) अण्डाको मूल्य रु ५५ ले बढेको छ।
सङ्घका अनुसार नयाँ कायम गरिएको मूल्यसूची यस्तो छ:
| अण्डाको प्रकार | मूल्य (प्रतिक्रेट, रु) |
| अति ठूलो (XL) | ५२० |
| ठूलो (Large) | ५०५ |
| मिडिएम (Medium) | ४९० |
सङ्घका अध्यक्ष विनोद पोखरेलले भारतीय अण्डा अवैध रूपमा नेपाल भित्रिन नपाएपछि नेपाली अण्डाले लागत मूल्य पाएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतमा हालै भएको निर्वाचनका कारण सिमानामा कडाइ हुनु र त्यहाँ नै अण्डाको खपत बढेर मूल्यमा वृद्धि हुनुले अवैध आयात रोकिएको हो।
लागत मूल्य रु १६.५७ सुनिश्चित
नेपालमा अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु १६.५७ पर्न आउने तथ्याङ्क छ। नयाँ दररेटमा अण्डा बिक्री गर्दा किसानले लागत मूल्य पाएको सङ्घले जनाएको छ।
सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा नै प्रतिगोटा अण्डा भारतीय रु ७.८० मा बिक्री भइरहेको छ। भारतमा नै राम्रो मूल्य पाइएपछि तस्करहरूले समेत नेपालतर्फ अण्डा भित्र्याउने प्रयास कम गरेका छन्।
कँडेलले भन्नुभयो, “नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले आफ्नो लागत मूल्य पाउने वातावरण बनेको छ।”
जाडोले खपत बढ्ने अपेक्षा
सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत स्वाभाविक रूपमा बढ्ने गरेको बताउनुभयो। चिसोबाट जोगिन अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले पनि मागमा वृद्धि भएको उहाँको भनाइ छ।
यसअघि तीन महिनाअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५३० सम्म पुगेको थियो, तर अवैध आयातका कारण त्यो मूल्य क्रमशः घटेर रु ४०० सम्म झरेको थियो। पुनः मूल्य वृद्धि हुँदै लागत मूल्य पाउने अवस्थामा पुगेपछि किसानहरू लाभान्वित हुने भएका छन्। नेपालमा हाल दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान छ।