क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनःनिर्माण सुरु, दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काभ्रेपलाञ्चोक, ७ मंसिर । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनःनिर्माण कार्य सुरु गरिएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको यस राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

गतसाल असोज दोस्रो साता र यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिरोले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग अब स्थायी रुपमा निर्माण गरिने भएको हो।

कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार, क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनःनिर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको छ।

ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशले बताए। “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,” योगेशले भने। पाँच वटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको पनि उनले जानकारी दिए।

डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का पाएको छ। यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किलोमिटर सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किलोमिटर सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ।

क्षतिग्रस्त कूल २९ दशमलव पाँच किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिदिने भएको छ। यस खण्डको ठेक्का प्रक्रियाको काम भइरहेको र जापानले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको योगेशले बताए। जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको छ।

कार्यालयले दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी मंसिरको सुरुआतदेखि नै स्थायी पुनःनिर्माण थालिएको जनाएको छ। क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किलोमिटर सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्ग विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। यो राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइन्छ।