अनुमतिबिना सञ्चालित ३२ कन्सल्टेन्सीलाई मुद्दा, थप ३७ वटामाथि अनुसन्धान जारी

काठमाडौँ, ५ जेठ । काठमाडौँ उपत्यकामा अनुमतिबिना सञ्चालनमा रहेका ३२ वटा शैक्षिक परामर्श संस्था (एजुकेसन कन्सल्टेन्सी) विरुद्ध प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको छ। शिक्षा ऐन र प्रचलित कानुनविपरीत कार्य गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि मुद्दा चलाएको हो।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार, अनुमति विना संस्था सञ्चालन गर्ने, विद्यार्थीको कीर्ते विवरण खडा गर्ने र सरकारी छाप तथा हस्ताक्षरको दुरुपयोग गर्ने जस्ता कसुरमा उनीहरूलाई कारबाहीको दायरामा ल्याइएको हो। मुद्दा चलाइएका ती ३२ कन्सल्टेन्सीहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसएसपी खड्काले जानकारी दिनुभयो।

यसैगरी, सोही प्रकृतिको कसुरमा शङ्कास्पद देखिएका थप ३७ वटा कन्सल्टेन्सीहरूमाथि अहिले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय शैक्षिक परामर्शको आडमा ठगी र कीर्ते गर्ने गिरोह सक्रिय भएको जनगुनासो बढेपछि प्रहरीले उपत्यकाका कन्सल्टेन्सीहरूमाथि कडा निगरानी र छापा मार्ने अभियान चलाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *