प्रतिनिधि सभामा हर्क साम्पाङको विरोध कायमै, प्लेकार्ड देखाउँदै मन्त्रीहरूको जवाफदेहिता माग
काठमाडौँ, ५ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले पुनः विरोध प्रदर्शन गरेका छन्। बैठक सुरु भएलगत्तै उनी आफ्नो स्थानबाट उठेर प्लेकार्ड (पर्चा) देखाउँदै विरोधमा उत्रिएका हुन्।
सांसद साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद् र जनताप्रति थप जिम्मेवार एवं जवाफदेही बनाउनुपर्ने माग राख्दै पर्चा प्रदर्शन गरेका थिए। उनले केही समयदेखि सरकारका कामकारबाही र मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सदनमा यस्तो शैली अपनाउँदै आएका छन्।
साम्पाङले प्लेकार्डसहित उभिएर विरोध जनाइरहँदा सभामुखले यसबारे संसद्को ध्यानाकर्षण भएको जानकारी दिनुभयो। “माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ, यसबारे सचिवालयसँग पनि आवश्यक कुरा हुनेछ,” सभामुखले भन्नुभयो।
सभामुखको आश्वासनपछि साम्पाङ आफ्नो स्थानमा बसेका थिए र संसद्को नियमित कार्यसूची अगाडि बढेको थियो।
संसद्मा फरक शैलीमा विरोध गर्ने र जनसरोकारका मुद्दा उठाउने साम्पाङको यो गतिविधिले आज पनि सदनको ध्यान खिचेको थियो।