चाँगुनारायण देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै, जेठ ८ देखि १० गतेसम्म विशेष महोत्सव
भक्तपुर, ५ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफूलाई देशकै पहिलो ‘योग नगर’ घोषणा गर्ने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले आगामी जेठ ८ देखि १० गतेसम्म विशेष समारोह आयोजना गरी सो ऐतिहासिक घोषणा गर्न लागेको जानकारी दिएको हो।
नगर प्रमुख जीवन खत्रीका अनुसार जेठ ८ गतेदेखि सुरु हुने त्रिदिवसीय कार्यक्रमको अन्तिम दिन बागमती प्रदेशका मुख्यमन्त्रीले चाँगुनारायणलाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गर्नुहुनेछ। सोही अवसरमा ‘चाँगु योग ज्योति सन्देश’ स्मारिका समेत विमोचन गरिनेछ।
घोषणा कार्यक्रमअन्तर्गत जेठ ८, ९ र १० गते बिहान ५:०० बजेदेखि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा वृहत् योग विज्ञान शिविर सञ्चालन गरिनेछ। नगरलाई योग नगर घोषणा गरेपछि यसलाई दिगो बनाउन नगरपालिकाले विशेष कार्ययोजना समेत सार्वजनिक गरेको छ।
“हामी चाँगुनारायणका प्रत्येक वडादेखि विद्यालयसम्म योग शिक्षक उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्नेछौँ,” नगर प्रमुख खत्रीले भन्नुभयो, “नियमित योग, ध्यान र प्राणायाममार्फत नगरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न यो अभियान कोशेढुङ्गा सावित हुनेछ।”
नगरपालिकाले वडा–वडामा नियमित योग शिविर सञ्चालन गर्ने, विद्यालयहरूमा योग शिक्षालाई अनिवार्य बनाउने र टोल–टोलमा योग पार्क एवं ध्यान केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको छ। यस अभियानलाई आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अगाडि बढाइने नगरपालिकाको योजना छ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले ‘पहिलो सुख निरोगी काया’ भन्ने नारालाई सार्थक बनाउन यो घोषणाले नगरवासीमा नयाँ उत्साह थपेको बताउनुभयो। यस्तै, प्रादेशिक योग समितिका सदस्य नवराज काफ्लेले चाँगुनारायण देशकै पहिलो योग नगरपालिका बन्नु गौरवको विषय भएको र यसले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।
यो घोषणासँगै चाँगुनारायणले भौतिक पूर्वाधार विकाससँगै मानवीय स्वास्थ्य र आध्यात्मिक चेतनालाई समेत प्राथमिकतामा राखेको देखिएको छ।