नेप्सेमा गिरावट जारी, कारोबार रकममा पनि कमी
काठमाडाैं, २२ मङ्सिर । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६.६७ विन्दुमा झरेको छ। यसले पछिल्ला ५ कारोबार दिनदेखिको घट्दो क्रमलाई निरन्तरता दिएको छ। सेन्सेटिभ इण्डेक्स १.५० अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार ५ अर्ब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा सोमबार ३३१ स्टकको ८३ हजार २७३ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड १ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। इंगवा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ५.१६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ, जसको ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सागर डिष्टिलरीको करिब २४ करोड रुपैयाँ र पियोर इनर्जीको साढे ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको घटेको छ। जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ।