बञ्चरेडाँडाको आयु जोगाउने सुनिता डंगोलको ‘भिजन’ : स्रोतबाटै फोहर घटाउने र सहकार्यको नयाँ सूत्र

काठमाडौँ, असार २२ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सधैँ एउटा पेचिलो चुनौती रहँदै आएको छ। सिसडोल भरिएपछि विकल्पका रूपमा प्रयोगमा ल्याइएको बञ्चरेडाँडा सेनिटरी ल्याण्डफिल साइटको आयु पनि तीव्र रूपमा घट्दै गएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल यतिबेला यसको आयु बढाउने र फोहर व्यवस्थापनलाई दिगो बनाउने योजनाका साथ सक्रिय हुनुभएको छ।

कार्यवाहक प्रमुख डंगोलको स्पष्ट मान्यता छ, ‘फोहर व्यवस्थापन केवल महानगरको मात्र होइन, यो सबै पालिकाहरू र संघ सरकारको साझा दायित्व हो।’ यही सोचका साथ उहाँले बञ्चरेडाँडाको आयु लम्ब्याउन ‘स्रोत र मटेरियल रिकभरी सेन्टरबाट फोहरको मात्रा घटाउने’ र डम्पिङ साइटसम्म फोहर नपुर्‍याउने र ‘अन्य पालिकाहरूसँग वित्तीय साझेदारी गर्ने’ लक्ष्य गरी दुईवटा मुख्य अस्त्र अघि सार्नुभएको छ ।

पछिल्लो समय सहरी विकास तथा भवन निर्माण विभाग र वातावरण विभागका अधिकारीहरूसँगको छलफलमा डंगोलले महानगरको नयाँ रणनीति प्रष्ट पार्नुभयो। उहाँका अनुसार महानगरले अब फोहरलाई सिधै ल्याण्डफिल साइट पुर्‍याउने परम्परागत शैली बदल्न चाहन्छ ।

“हामीले सहरका विभिन्न ७ स्थानमा ‘मटेरियल रिकभरी सेन्टर’ सञ्चालन गर्ने योजना बनाएका छौँ ।’ डंगोलले भन्नुभयो, ‘घरबाटै फोहर वर्गीकरण गर्ने र ती सेन्टरहरूमा पुन: प्रयोग गर्न मिल्ने वस्तुहरू छुट्याउँदा ल्याण्डफिल साइटमा पुग्ने फोहरको मात्रा निकै कम हुन्छ।’ यसका लागि उहाँले संघ सरकारसँग जग्गा उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ, जुन महानगरको क्षेत्राधिकारभन्दा बाहिर छ।

वित्तीय साझेदारी: लागत मात्र होइन, अपनत्वको खोजी

अहिलेसम्म बञ्चरेडाँडा र त्यस क्षेत्रको पूर्वाधारमा महानगरले वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ। तर, काठमाडौँ उपत्यकाका अन्य पालिकाहरूको फोहर पनि त्यहीँ जाने गरेको छ। कार्यवाहक प्रमुख डंगोलले अब फोहरको भारका आधारमा अन्य पालिकाहरूले पनि वित्तीय साझेदारी गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।

उहाँको यो प्रस्ताव केवल पैसाका लागि मात्र होइन। डंगोल भन्नुहुन्छ, “वित्तीय साझेदारीले पालिकाहरूलाई आफूले उत्पादन गरेको फोहरप्रति अपनत्व बोध गराउँछ। सबै काम महानगरले मात्र गरेर अपजस मात्रै पाउने अवस्थाको अन्त्य हुनुपर्छ।” महानगरले ५० प्रतिशत लागत व्यहोर्न तयार रहेको र कमजोर आर्थिक अवस्था भएका पालिकालाई सहयोग समेत गर्ने प्रतिबद्धता जनाउँदै उहाँले नेतृत्वदायी भूमिका खेल्ने आँट देखाउनुभएको छ।

विगतको पाठ र भविष्यको चुनौती

गोकर्णदेखि सिसडोलसम्मको इतिहास हेर्दा फोहर व्यवस्थापन सधैँ अल्पकालीन समाधानमा मात्र अल्झिएको देखिन्छ। २०६२ सालमा ३ वर्षका लागि भनिएको सिसडोलमा करिब १५ वर्ष फोहर फालियो, जसले गर्दा त्यहाँको वातावरणीय अवस्था भयावह बन्यो। २०७९ बाट मात्र पूर्ण रूपमा प्रयोगमा आएको बञ्चरेडाँडाको ५० वर्षको आयु भनिए पनि अहिलेकै दरमा फोहर फाल्ने हो भने यो छिट्टै भरिने निश्चित छ।

यही गम्भीरतालाई बुझेर डंगोलले ‘थ्रि-आर’ विधिलाई कडाइका साथ लागू गर्न जोड दिनुभएको छ । उहाँको सक्रियताले ल्याण्डफिल साइटको प्राविधिक पक्षमा मात्र होइन, प्रशासनिक र नीतिगत समन्वयमा पनि नयाँ उत्साह थपेको छ ।

समन्वय नै सफलताको कडी

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले भनेझैँ, स्थानीयवासीसँग गरिएका सम्झौता र बढ्दो आर्थिक दायित्वले महानगरलाई थप जिम्मेवार बनाएको छ । तर, कार्यवाहक प्रमुख डंगोलको यो ‘एक्शन’ले एउटा स्पष्ट सन्देश दिएको छ, काठमाडौँ सफा राख्न अब ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने भावना सबै पालिका र नागरिकमा हुनुपर्छ ।

यदि महानगरले प्रस्ताव गरेका ७ वटा रिकभरी सेन्टरका लागि संघ सरकारले जग्गा उपलब्ध गराउने र उपत्यकाका १८ वटै पालिकाले फोहर व्यवस्थापनमा वित्तीय र नैतिक साझेदारी गर्ने हो भने, बञ्चरेडाँडाको आयु मात्र जोगिने छैन । काठमाडौँले फोहर व्यवस्थापनको एउटा आधुनिक र दिगो मोडल विश्वसामु प्रस्तुत गर्नेछ । डंगोलको यो पहलकदमी फोहर व्यवस्थापनको राजनीतिबाट माथि उठेर गरिएको एउटा सकारात्मक प्रस्थानविन्दु हो ।