यस वर्ष धान रोपाइँ सुस्त: असार तेस्रो सातासम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौँ, २२ असार । असारको तेस्रो साता बितिसक्दा पनि यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म देशभर कुल क्षेत्रफलको ३२.३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। गत वर्षको यसै अवधिमा ४५ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो।

नेपालमा धान खेती हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। मनसुनको सक्रियतामा आएको ढिलाइ र पर्याप्त सिँचाइ सुविधाको अभावका कारण यस वर्ष रोपाइँको दर खुम्चिएको कृषि अधिकारीहरू बताउँछन्।

प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था तुलनात्मक रूपमा बढी देखिएको छ। सुदूरपश्चिममा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये ८९ हजार ७ सय ४२ हेक्टर (५७.९ प्रतिशत) मा रोपाइँ सकिएको छ। यद्यपि, गत वर्ष यसै अवधिमा त्यहाँ ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो। सुदूरपश्चिमपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत (३८ हजार ३ सय ८९ हेक्टर) र कर्णाली प्रदेशमा ४०.५ प्रतिशत (१७ हजार ५ सय ४९ हेक्टर) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

यसैगरी, लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये ३७.३ प्रतिशत (१ लाख १२ हजार ५ सय ९ हेक्टर) र बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३३.२ प्रतिशत (३८ हजार २६ हेक्टर) मा रोपाइँ सकिएको छ।

कोशी प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँमा सामान्य सुधार देखिएको छ। कोशीमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ३१.५ प्रतिशत (८७ हजार ३३ हेक्टर) मा रोपाइँ सकिएको छ, जबकी गत वर्ष यसै अवधिमा यहाँ २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो।

धान उत्पादनको मुख्य भण्डार मानिने मधेश प्रदेशमा भने यस वर्ष रोपाइँको अवस्था निकै सुस्त देखिएको छ। देशमै सबैभन्दा बढी अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने मधेशमा हालसम्म जम्मा १५.६ प्रतिशत (६० हजार ३ सय ४६ हेक्टर) मा मात्र रोपाइँ हुन सकेको छ, जुन सबै प्रदेशहरूमध्ये सबैभन्दा न्यून हो। गत वर्ष यसै अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *