कालो चश्मा र कालो कोट लगाएर कालो गाडीमा हुइकिनेहरूको मात्र होइन यो देश: भीष्मराज आङदेम्बे
काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश केबल पहुँचवाला र सम्भ्रान्त वर्गको मात्र नभएको टिप्पणी गरेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूमाथि राज्यले निर्मम व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरे।
प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को कार्यशैलीतर्फ लक्षित गर्दै नेता आङदेम्बेले भने, “के यो देश ठूला बडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय? सुकुम्वासी, अव्यवस्थित बसोवासी, गरिब, किसान र मजदुरहरूको यो देश होइन?”
सम्बोधनका क्रममा नेता आङदेम्बेले सुकुम्वासीहरूको बसोवासको कानुनी हैसियतमाथि प्रश्न उठाइए पनि उनीहरूको नागरिक हुनुको हकलाई कसैले खोस्न नसक्ने तर्क गरे। “कुनै पनि नागरिकको बसोवास गैरकानूनी थियो होला सभामुख महोदय। तर उसको जन्म त गैरकानूनी थिएन होला नि। जन्म दिने आमाको गर्भ त गैरकानूनी थिएन होला नि,” उनले भावुक हुँदै प्रश्न गरे, “उ नेपाली भूमिमा जन्मनु पनि गैरकानूनी थिएन होला नि सभामुख महोदय।”
विकल्प बिना नै सुकुम्वासी बस्तीहरू भत्काउने र उनीहरूलाई विस्थापित गर्ने सरकार र स्थानीय निकायको कदमलाई उनले ‘मानवीय संवेदना शून्य’ भएको लक्षणका रूपमा टिप्पणी गरे। वर्षा यामको सुरुवातमा वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाहरूलाई सडकमा पुर्याउने कार्य लोक कल्याणकारी राज्यको चरित्र अनुकूल नभएको उनको भनाइ थियो।
हिजो व्यवस्थापनको नाममा बलपूर्वक हटाएर आश्रय स्थलमा राख्ने र आज त्यहाँबाट पनि रातारात धपाउने काम भइरहेको भन्दै उनले आपत्ति जनाए।
नेता आङदेम्बेले सत्ताको उन्माद होइन, मानवीय ढङ्गले सुकुम्वासी समस्याको दिगो र व्यवहारमुखी समाधान खोज्न सरकारसँग माग गरे। शक्तिहीन नागरिकमाथि राज्यले अत्याचार गर्न नहुने भन्दै उनले सभामुखमार्फत सरकारलाई सचेत गराए।