अष्ट्रेलियामा ११ करोड ५० लाख वर्ष पुरानो विशाल शार्कको अवशेष फेला, वैज्ञानिकहरूको बुझाइ बदलियो

 

काठमाडौँ । करिब ११ करोड ५० लाख वर्षअघि अष्ट्रेलियाको समुद्रमा ८ मिटर लामा विशाल शार्कहरूले राज गर्थे भन्ने नयाँ तथ्य सार्वजनिक भएको छ।

त्यस समयमा समुद्रमा लामो घाँटी भएका प्लेसियोसर, ठूलो टाउको भएका प्लियोसर र डल्फिनजस्ता देखिने इक्थियोसरहरू घुम्ने गर्थे। तर, हालैको जीवाश्म (Fossils) अध्ययनले ती विशाल समुद्री जीवहरूसँगै ८ मिटर लामा डरलाग्दा शार्कहरू पनि अस्तित्वमा रहेको देखाएको छ।

गत अक्टोबर २५ मा ‘कम्युनिकेसन्स बायोलोजी’ जर्नलमा प्रकाशित यो अध्ययनले विशाल ‘ल्याम्निफर्म’ शार्कहरूको इतिहासलाई नयाँ मोड दिएको छ। यी शार्कहरू अहिलेका ‘ग्रेट ह्वाइट’ र लोप भइसकेका ‘मेगालोडन’ शार्कका पुर्खाहरू हुन्। नयाँ खोजले यस्ता विशाल शार्कहरूको उत्पत्ति यसअघि सोचिएभन्दा १ करोड ५० लाख वर्ष अगाडि नै भइसकेको पुष्टि गरेको छ।

स्ट्यानफोर्ड विश्वविद्यालयका विकासवादी जीवविज्ञानी मोहम्मद बाजी भन्छन्, “यी शार्कहरू सामान्य थिएनन्। यिनले विशाल समुद्री सरीसृपहरूसँगै शीर्ष शिकारी (Apex Predators) को भूमिका निभाएका थिए।” यसअघि ती विशाल सरीसृपहरूलाई मात्र समुद्रका एकमात्र शासक मानिन्थ्यो।

कसरी भयो पत्ता?
सन् १९९२ मा उत्तरी अष्ट्रेलियाको डार्विन नजिकै समुद्रको पिँधमा ११ करोड ५० लाख वर्ष पुराना मेरुदण्डका हड्डीहरू फेला परेका थिए। तर, त्यतिबेला यसबारे धेरै जानकारी थिएन। सन् २०२४ मा स्विडेनको म्युजियम अफ नेचुरल हिस्ट्रीका जीवाश्मविद् बेन्जामिन कियर, मोहम्मद बाजी र उनीहरूको टोलीले ती हड्डीहरूको विस्तृत अध्ययन गर्‍यो।

कियर भन्छन्, “हामी यसको विशाल आकार देखेर चकित पर्यौं।” शार्कको मेरुदण्डको एउटा टुक्रा नै करिब १२ सेन्टिमिटर चौडा थियो, जुन अहिलेको विशाल ग्रेट ह्वाइट शार्कको भन्दा ५० प्रतिशत ठूलो हो।

 

३ टन तौल र ८ मिटर लम्बाइ
अनुसन्धानकर्ताहरूले यो शार्क ‘कार्डिबियोडोन्टिड’ (Cardabiodontid) समूहको भएको निष्कर्ष निकालेका छन्। यो लोप भइसकेको प्रजाति हो, जसमा अहिलेका ‘स्यान्ड टाइगर’ र ‘बास्किङ’ शार्कहरू पर्छन्। वैज्ञानिकहरूका अनुसार उक्त शार्क करिब ८ मिटर लामो र ३ टन (३,००० किलो) तौलको थियो।

यसअघि ‘लेप्टोस्टाइर्याक्स’ नामक ६ मिटर लामो शार्कलाई सबैभन्दा पुरानो विशाल शार्क मानिन्थ्यो। तर नयाँ भेटिएको शार्क त्योभन्दा १ करोड ५० लाख वर्ष पुरानो र आकारमा अझ ठूलो छ। यसले शार्कहरू विकास भएको छोटो समयमै (करिब २ करोड वर्षभित्र) विशाल आकारमा परिणत भएर खाद्य चक्रको शीर्ष स्थानमा पुगेको देखाउँछ।

यो खोजले वैज्ञानिकहरू माझ नयाँ प्रश्नहरू पनि खडा गरेको छ। ती विशाल शार्कहरूले अन्य खतरनाक समुद्री शिकारीहरूसँग कसरी पारिस्थितिक सन्तुलन मिलाएर जीवन बिताए होलान् भन्ने विषय अबको चासो बनेको छ।

“यस खोजले क्रिटेसियस युगमा अझै ठूला र अज्ञात प्रजातिहरू अस्तित्वमा थिए भन्ने रोमाञ्चक सम्भावनालाई जीवित राखेको छ,” जीवविज्ञानी बाजीले भने। सायद, अझै विशाल शार्कका अवशेषहरू जमिनमुनि लुकेका छन्, जो भेटिन बाँकी नै छ।(स्रोतः sciencenews)