पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साता आंशिक बन्द, सडक विस्तारमा तीव्रता

धादिङ, २४ मङ्सिर । पृथ्वीराजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकखण्ड एक साताका लागि दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गरेर सडक विस्तारको कामलाई तीव्रता दिइएको छ। सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कार्यलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म यो व्यवस्था लागू गरेको हो।

सडक आयोजनाले जारी गरेको सूचनाअनुसार, नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म सडक आवागमन बन्द गरिएको छ। यस समयमा वैकल्पिक सडक प्रयोग गर्न र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरिएको नागढुङ्गा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए।

एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको ओझाले बताए। धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ।
त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ। विशेषगरी काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्डको कालोपत्रेलाई उच्च प्राथमिकतामा राखिएको छ।

नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँतर्फबाट आउने सवारीसाधनलाई नागढुङ्गा चेकपोस्टमा र गल्छीबाट काठमाडौँतर्फ जाने सवारीसाधनलाई खानीखोला तथा जुँगेखोलामा रोकिएको छ। गल्छी–गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारी साधनलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतर्फबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखु क्षेत्रमा रोकिएको छ।

अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन्। सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पुल तरेर घाटबेँसीको पुल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सकिनेछ।