नेप्से परिसूचक २६०० विन्दुभन्दा तल झर्यो, कारोबार रकममा भने वृद्धि
काठमाडौँ, २८ मङ्सिर । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से घटेसँगै २६०० विन्दुभन्दा तल झरेको छ, जुन १४ कारोबार दिनपछि भएको हो। यसअघि गत मङ्सिर ४ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।
आइतबार नेप्से परिसूचक १२.५० अंक घटेर २५९४.८७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक, फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३० स्टकको ६० हजार ६९९ पटकको कारोबारमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो अघिल्लो दिनको तुलनामा करिब ५१ करोड रुपैयाँले बढी हो।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयरमूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो। त्यस्तै, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। अर्कोतर्फ, कारोबारमा आएको सिटि होटलको शेयरमूल्य यस दिन सर्वाधिक ६.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २६ करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो। त्यस्तै, ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।