५ महिनामै मुलुकको व्यापार घाटा साढे ६ खर्ब: निर्यातमा ५८ प्रतिशतको उछाल भए पनि आयातको भार भारी
काठमाडौँ, ८ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मङ्सिर मसान्त) सम्ममा नेपालको वैदेशिक व्यापार घाटा साढे ६ खर्ब रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, समीक्षा अवधिमा नेपालले कुल ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको हो ।
विभागको प्रतिवेदन अनुसार मङ्सिर मसान्तसम्म मुलुकको कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बराबरको भएको छ । यस अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको आयात हुँदा निर्यात भने मात्र १ खर्ब १६ अर्ब ५० करोडमा खुम्चिएको छ । यद्यपि, गत वर्षको तुलनामा यस वर्ष निर्यातमा ५८.१७ प्रतिशतको उल्लेखनीय सुधार देखिएको छ भने आयात पनि १५.८३ प्रतिशतले बढेको छ ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँगको व्यापार घाटा सधैँझैँ उच्च रहेको छ । पाँच महिनामा भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोडको सामान आयात हुँदा नेपालले मात्र ९५ अर्ब ४ करोडको सामान निर्यात गर्न सकेको छ । भारतसँग मात्रै नेपालले ३ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।
त्यस्तै, दोस्रो ठूलो साझेदार चीनसँगको व्यापार घाटा पनि चिन्ताजनक छ । चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोडको आयात हुँदा निर्यात भने मात्र ४६ करोड ६८ लाख रुपैयाँ बराबरको छ । चीनसँगको व्यापार घाटा १ खर्ब ६३ अर्ब २६ करोड रहेको विभागले जनाएको छ ।
नेपालले केही देशहरूसँग भने व्यापार नाफा कमाएको छ । जसमा रोमानिया सबैभन्दा अगाडि छ, जहाँ नेपालले ६ करोड ३४ लाख ६९ हजार रुपैयाँ नाफा गरेको छ । यसबाहेक स्वीडेन र इराकसँग पनि नेपालको व्यापार सन्तुलन सकारात्मक देखिएको छ ।