सीमा विवादसम्बन्धी अभिव्यक्तिका लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नुपर्छ: एमाले सांसद कँडेल

काठमाडौँ, १४ असार । नेपाल–भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले दिएको विवादास्पद अभिव्यक्तिका विषयमा नेकपा (एमाले) ले संसद्‌मा कडा आपत्ति जनाउँदै प्रधानमन्त्रीले देशवासीसँग माफी माग्नुपर्ने अडान दोहोर्‍याएको छ।

आइतबारको प्रतिनिधि सभा बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएपछि एमालेका तर्फबाट बोल्दै सांसद पुष्पराज कँडेलले यस्तो माग गर्नुभएको हो।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद कँडेलले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हित र कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभयो। “प्रधानमन्त्रीज्यूले संसद्को रोष्टमबाट दिएको सो अभिव्यक्तिका लागि उहाँले तत्काल देशवासीसँग सार्वजनिक रूपमा माफी माग्नुपर्छ,” कँडेलले भन्नुभयो, “यसका साथै, भौगोलिक अखण्डता र देशको स्वाभिमानमाथि आँच पुर्‍याउने सो विवादास्पद अभिव्यक्ति संसद्को रेकर्ड (अभिलेख) बाट समेत तत्काल हटाइनुपर्छ।”

गत जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *