रास्वपाले १८ वर्षमुनिका ३५ हजार बालबालिकालाई सदस्य बनाएको भन्दै संसद्मा कांग्रेसको आपत्ति
काठमाडौँ, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकाहरूलाई पार्टीको आन्तरिक सदस्यता दिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा गम्भीर प्रश्न उठाएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको प्रारम्भमै कांग्रेसका तर्फबाट बोल्दै सांसद रेनुका काउचाले यो कार्य प्रचलित नेपालको संविधान र कानुन विपरीत भएको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको हो।
सांसद काउचाले रास्वपाको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना बालबालिकालाई पार्टी सदस्य बनाइएको विवरण सार्वजनिक भएको औंल्याउनुभयो। “औपचारिक रूपमै बालबालिकालाई पार्टी सदस्य बनाएको घोषणा गरिनु गम्भीर विषय हो,” उहाँले संसद्मा प्रश्न गर्नुभयो, “के रास्वपा मुलुकको संविधान र ऐन-कानुनभन्दा माथि छ?”
नेपालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद ३ अन्तर्गत दफा १४ मा स्पष्ट रूपमा कुनै पनि दलको सदस्यता लिनका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने बाध्यात्मक व्यवस्था छ।
यसका साथै, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ७ ले कुनै पनि बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा बन्देज लगाएको छ।