आगामी निर्वाचनका लागि कास्कीमा १७ हजार ८४२ नयाँ मतदाता थप, मतदानस्थल पनि बढे
कास्की, ११ पुस । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत जिल्लाभरबाट १७ हजार ८४२ जनाले नयाँ नाम दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार यसअघिको निर्वाचनमा कास्कीमा कुल २ लाख ९४ हजार १५१ मतदाता रहेका थिए । नयाँ थपिएका मतदातासहित अब जिल्लामा मतदाताको संख्या करिब ३ लाख १२ हजार पुग्ने देखिएको छ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म नयाँ मतदाताका लागि आवेदन माग गरिएको जानकारी दिनुभयो । “प्राप्त भएका आवेदनहरूको अहिले थप अध्ययन र प्रमाणीकरण भइरहेको छ,” उहाँले भन्नुभयो, “दाबी विरोध र आवश्यक प्रक्रिया पूरा गरेपछि शीघ्र अन्तिम नामावली प्रकाशन गरिनेछ ।”
मतदाताको संख्या बढेसँगै जिल्लामा मतदानस्थलको संख्यामा पनि सामान्य वृद्धि गरिएको छ । यसअघिको निर्वाचनमा १५० वटा मतदानस्थल रहेकामा आगामी निर्वाचनका लागि १५३ वटा स्थल तय गरिएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
अन्तिम मतदाता नामावलीको टुङ्गो लागेपछि मात्रै मतदान केन्द्रहरूको यकिन विवरण सार्वजनिक गरिने कार्यालयले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले आफ्नो प्राविधिक र प्रशासनिक तयारीलाई तीव्र पारेको छ ।