जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ, ११ पुस । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दर्ता भएको रिट निवेदन खारेज गरिदिएको छ ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज हुने फैसला सुनाएको हो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई विपक्षी बनाएर अधिवक्ता विपीन ढकालले रिट निवेदन दायर गर्नुभएको थियो । रिटमा आयोगका पदाधिकारीहरू निष्पक्ष नरहेको र छानबिनका क्रममा तटस्थ भूमिका निर्वाह नगरेको दाबी गरिएको थियो ।
सर्वोच्चले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले यस विषयमा विपक्षीसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्ण इजलासले रिट खारेज गर्ने निर्णय गरे पनि निर्देशनात्मक आदेशको लिखित पाठ आउन भने बाँकी छ । सर्वोच्चको यो फैसलासँगै भदौ २३ र २४ को घटना छानबिन गरिरहेको आयोगको वैधानिकतामाथि उठेको कानुनी प्रश्नको अन्त्य भएको छ ।