आगामी निर्वाचनका लागि एमालेको तयारी तीव्र: माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित चुनावी अभियान सुरु हुने
काठमाडौँ, ३० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँबाट औपचारिक रूपमा चुनावी अभियानको सुरुवात गर्ने भएको छ ।
पार्टीको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा बृहत् जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्ने तयारी गरेको छ । एमाले सचिव एवं प्रदेश इञ्चार्ज महेश बस्नेतका अनुसार सो दिन शक्ति प्रदर्शनसहित निर्वाचन केन्द्रित विशेष कार्यक्रम आयोजना गरिनेछ ।
यसैगरी, एमालेको संशोधित विधानअनुसार गठन गरिएको ‘राजधानी विशेष कमिटी’ को औपचारिक घोषणा र चुनावी अभियानको शुभारम्भ भने आगामी माघ २ गते नै गरिने भएको छ । पार्टी सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले माघ २ गतेको कार्यक्रममार्फत राजधानी केन्द्रित चुनावी गतिविधि अघि बढाइने जानकारी दिनुभयो ।
यही पुस २६ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी रूपमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले राजधानीबाट आफ्नो सांगठनिक र प्रचारमुखी अभियानलाई तीव्र पार्न लागेको हो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले आफ्ना सबै कमिटीहरूलाई चुनावी तयारीमा जुट्न निर्देशन दिइसकेको छ । बागमती प्रदेश र राजधानी विशेष कमिटीका यी कार्यक्रमहरूलाई एमालेको देशव्यापी चुनावी माहोल सिर्जना गर्ने प्रारम्भिक कडीका रूपमा हेरिएको छ ।