राष्ट्रिय सभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित
काठमाडौँ, २५ असार । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि राष्ट्रिय सभामा दफाबार छलफल सम्पन्न भएपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतले पारित भएको हो। राष्ट्रिय सभाबाट पारित भएसँगै यो विधेयक अब पुनः प्रतिनिधि सभामा फिर्ता जानेछ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३ लाई सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुअघि अर्थमन्त्री वाग्लेले विधेयकमाथि सघन दफाबार छलफलका लागि प्रस्ताव पेस गरेका थिए।
विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै राष्ट्रिय सभाका सदस्यहरू डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील सेवा क्षेत्रमा थप कर लगाउन नहुने धारणा राखेका थिए। उनीहरूले आम नागरिकको दैनिक जीवन र मौलिक अधिकारसँग जोडिएका आधारभूत स्वास्थ्य तथा शिक्षामा करको भार नथप्न सरकारको ध्यानाकर्षण गराए।
यसैबीच, बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले विशेषगरी वर्षायामको समयमा समस्यामा परेका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूका लागि सुरक्षित बसोबासको उचित व्यवस्था मिलाउन सरकारसँग माग गरे।