रुकुम पश्चिममा वृद्धद्वारा श्रीमतीको हत्या : अभियुक्त पक्राउ

काठमाडौँ, माघ ३ ।  रुकुम पश्चिममा एक वृद्धले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका-१ का ७४ वर्षीय गणेशबहादुर कामीले घरायसी विवादका क्रममा ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गणेशबहादुरले श्रीमतीको टाउको र हातमा फलामको सनासोले घातक प्रहार गरेका थिए । गत शुक्रबार अपराह्न भएको उक्त आक्रमणबाट पम्फाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले अभियुक्त गणेशबहादुरलाई नियन्त्रणमा लिई घटनाबारे विस्तृत अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि आक्रमण गरेको देखिएको प्रहरीको भनाइ छ ।