भक्तपुर–२ मा कांग्रेस-एमाले होइन, रास्वपासँग मात्रै प्रतिस्पर्धा हुन्छ: जितराम लामा

भक्तपुर, १० माघ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. २ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार जितराम लामाले आफ्नो मुख्य प्रतिस्पर्धा नयाँ राजनीतिक दलहरूसँग मात्र हुने दाबी गरेका छन्।

शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामाले पुराना दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) अब प्रतिस्पर्धाको दौडबाट बाहिरिइसकेको जिकिर गरे।

उम्मेदवार लामाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि एक अर्थमा ‘पुरानै शक्ति’ को संज्ञा दिएका छन्। जनता अब पूर्ण रूपमा नयाँ र निष्कलङ्क शक्तिको खोजीमा छन्, जुन विकल्प उज्यालो नेपाल पार्टी बाहेक अरू नभएकाे उनकाे दावी छ ।

यस क्षेत्रमा यसपटक कडा र बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यहाँबाट प्रमुख दलहरूले निम्न उम्मेदवारहरूलाई मैदानमा उतारेका छन्:
नेपाली कांग्रेस: कविर राणा (पत्रकार)
नेकपा (एमाले): महेश बस्नेत
राष्ट्रिय स्वतन्त्र पार्टी: राजीव खत्री
नेपाल मजदुर किसान पार्टी: रमेश वैद्य
नेपाली कम्युनिष्ट पार्टी: रामप्रसाद सापकोटा ‘दीपशिखा’
राष्ट्रिय प्रजातन्त्र पार्टी: विक्रम थापा

यी उम्मेदवारहरूका बीच लामाले आफूलाई नयाँ र ताजा विकल्पका रूपमा प्रस्तुत गरेका छन्।
नेपाल प्रेस सोसाइटी सूर्यविनायकमा भएको सो कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि आ-आफ्नो धारणा राखेका थिए। भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार रमेश वल्ल, जिल्ला संयोजक दुर्गाबहादुर घिमिरे तथा समानुपातिक उम्मेदवारहरू सीता पाण्डे र डा. जुनु कार्कीले पार्टीको एजेण्डा स्पष्ट पारेका थिए।

उनीहरूले प्रत्यक्षतर्फ ‘चिम’ र समानुपातिकतर्फ ‘बाँसुरी’ चिह्न बाेकेर उज्यालो नेपालको अभियान भइरहेकाे पनि बताए।