अविरल वर्षाले उपत्यकाका नदी करिडोर जोखिममा, पार्किङमा रोक
काठमाडौं, ९ असाेज । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तटीय सडक (करिडोर) जोखिमयुक्त बनेपछि प्रहरीले ती क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार सबै करिडोर सडकमा सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ।
वर्षाका कारण नदीको जलसतह क्रमशः सडकको छेउसम्म पुग्न थालेपछि करिडोर सडकमा सवारीसाधनको आवागमनसमेत आवश्यकताअनुसार नियन्त्रण गर्नुपर्ने अवस्था आएको उनले बताए।
उपत्यकाका बागमती, विष्णुमती, रुद्रमती–धोबीघाट, मनोहरा, हनुमन्ते र चोभार क्षेत्रमा जोखिम बढेको प्रहरीले जनाएको छ।
वर्षाको प्रवृत्ति र नदीको जलसतहको अवस्था विश्लेषण गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक तथा जनपद प्रहरी टोलीलाई परिचालन गरिएको एसपी सुवेदीले बताए।
प्रहरीले करिडोर क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा नदी किनारमा सवारीसाधन नरोकी सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ।
