स्वास्थ्य बिमाको ३ करोड रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
पर्वत, १८ माघ । सरकारले लामो समयदेखि स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नदिँदा पर्वत जिल्लाको एक मात्र सुविधासम्पन्न ‘पर्वत अस्पताल’ चरम आर्थिक सङ्कटमा परेको छ ।
अस्पतालले गत आर्थिक वर्षदेखिको बिमा तथा डायलायसिस सेवाबापतको ३ करोड रुपैयाँभन्दा बढी रकम सरकारबाट लिन बाँकी छ ।
समयमै भुक्तानी नपाउँदा अस्पतालको दैनिक प्रशासनिक कार्यदेखि उपचार सेवा प्रवाहमा गम्भीर असर परेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलका अनुसार सरकारले समयमा रकम नपठाउँदा बक्यौता रकम थपिँदै गएको छ ।
अस्पतालले बिमित बिरामीहरूको निःशुल्क उपचार गरेबापत उक्त रकम सरकारसँग दाबी गर्ने गर्छ । तर, लामो समयदेखि भुक्तानी रोकिएपछि अस्पताललाई औषधि तथा उपकरण खरिद गर्न, कर्मचारीको तलब–भत्ता खुवाउन र अन्य व्यवस्थापकीय काम गर्न कठिनाइ भएको डा. पौडेलले बताए ।
‘रकम भुक्तानीका लागि पटकपटक ताकेता गर्दा पनि सुनुवाइ भएको छैन,’ डा. पौडेलले भने, ‘अस्पताल विकास समितिको कोषबाट जेनतेन खर्च धानिएको थियो, अब त्यो पनि रित्तिएर सङ्कट सिर्जना हुने अवस्था आएको छ ।’
बिमा सुविधा भएका कारण सामान्य समस्यामा पनि बिरामीहरू अस्पताल आउने गरेका छन् । तर, बजेट अभावमा अत्यावश्यक औषधि, ल्याब रि–एजेन्ट र अन्य सामग्री खरिद प्रक्रिया नै अवरुद्ध हुन थालेपछि सेवाग्राही मर्कामा पर्ने जोखिम बढेको छ ।
जिल्लामा स्वास्थ्य बिमामा आबद्ध करिब ४५ प्रतिशत नागरिकले यही अस्पतालबाट सेवा लिने गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर परियारले सरकारले तोकेको दररेटमै उपचार गरे पनि बर्सेनि भुक्तानीमा झमेला हुने गरेको गुनासो गरे ।
केही दिनअघि अस्पताल निरीक्षणमा पुगेकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई अस्पतालले ज्ञापनपत्र बुझाउँदै तत्काल रकम निकासका लागि ध्यानाकर्षण गराएको थियो । सो क्रममा मन्त्री गौतमले देशभरका अस्पतालमा बिमाको भुक्तानी समस्या रहेको स्वीकार गर्दै सरकारले स्रोत खोजेर बजेट व्यवस्थापनको तयारी गरिरहेको प्रतिक्रिया दिएकी थिइन् ।