नुवाकोटमा मदिरा सेवनपछि विवाद: हत्या गरेर खाडलमा लुकाइएको अवस्थामा शव फेला, दुई जना पक्राउ

नुवाकोट, २३ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा एक व्यक्तिको विभत्स हत्या गरी शव खाडलमा लुकाइएको अवस्थामा फेला परेको छ । स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा बिहीबार बरामद गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले अहिले सार्वजनिक गरेको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मृतक तामाङ र पक्राउ परेका दुई व्यक्तिले बुधबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवनकै क्रममा उनीहरूबीच सामान्य विवाद भएको र सोही झगडाले उग्र रूप लिँदा तामाङको हत्या भएको देखिएको छ । हत्यापछि प्रमाण लुकाउने उद्देश्यले शवलाई खाडल खनेर गाडिएको प्रहरीले जनाएको छ ।

मृतक तामाङले लगाएको कपडा घरनजिकैको खोलामा रक्ताम्मे अवस्थामा फेला परेको थियो । शङ्कास्पद अवस्थामा कपडा भेटिएपछि खोजी गर्दा खाडलमा लुकाइएको शव फेला परेको हो ।

मृतकको शव परीक्षणका (पोस्टमार्टम) लागि त्रिशूली अस्पताल लगिएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरूलाई आज (शुक्रबार) नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप विस्तृत अनुसन्धान अघि बढाइने डीएसपी लामाले जानकारी दिनुभयो ।