बागमती नदीमा जलसतह घट्दो : गौरीघाटमा बहाव सतर्कता तहभन्दा तल
काठमाडौँ, साउन ३ । काठमाडौँको गौरीघाटस्थित बागमती नदीमा पानीको बहाव घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज अपराह्न सतर्कता तह पार गरेको नदीको जलसतह हाल उक्त तहभन्दा तल झरेको छ ।
आज दिउँसो गौरीघाट जलमापन केन्द्रमा बागमती नदीको सतह २.४१ मिटरसम्म पुगेको थियो । उक्त केन्द्रमा २.१ मिटरलाई ‘सतर्कता तह’ र २.७ मिटरलाई ‘खतराको तह’ मानिन्छ । विभागका अनुसार हाल जलसतह घटेर २.०२ मिटरमा झरेसँगै तत्कालका लागि बाढीको ठुलो जोखिम टरेको छ ।
विभागकी बाढीविद् सरस्वती विष्टले नदीको बहाव क्रमिक रूपमा घटिरहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । “अहिले बागमतीको जलसतह सतर्कता तहभन्दा तल आइसकेको छ,” उहाँले भन्नुभयो, “बहाव घट्दो क्रममा रहेकाले जोखिम न्यून हुँदै गएको छ ।”
यसअघि विभागले नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सतर्क रहन विशेष आग्रह गरेको थियो । बहावमा केही कमी आए पनि नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवागमन नगर्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न विभागले पुनः अनुरोध गरेको छ ।
भारी वर्षाको सम्भावना कायमै रहेकाले मौसमको अवस्था हेरेर पूर्वसावधानी अपनाउन समेत जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सूचित गरेको छ ।