पहिरोले अवरुद्ध अरनिको राजमार्गको कोदारी सडक आज बेलुकीसम्म खुलाउने प्रयास

काठमाडौँ, ३ साउन । सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडकखण्ड आज साँझसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) जिरोकिलो र भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। मौसम अनुकूल रहेमा आजै साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक विजय जैशीले ठूलो वर्षा नभए आज साँझसम्म र वर्षा निरन्तर भइरहेमा सोमबारसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो। “वर्षा कम भए आज साँझबाटै कोदारी सडक सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ। वर्षा निरन्तर भए भोलिसम्म सडक खुलाउने गरी काम तीव्र पारिएको छ”, उहाँले भन्नुभयो।

महानिर्देशक जैशीका अनुसार अवरुद्ध सडक छिटो खुलाउन सम्भावित पहिरो प्रभावित स्थानमा डोजर, एक्साभेटर, लोडर लगायतका हेभी उपकरणहरू तैनाथ राखिएका छन् र पहिरो पन्छाउने कार्य जारी छ।

देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण राजमार्गहरूमा पहिरोको जोखिम बढिरहेकाले सडक विभागले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ लाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।