सामाजिक सञ्जाल फेसबुकमा रास्वपालाई भोट मागेपछि प्रहरी हवल्दारमाथि कारबाही

वीरगञ्ज, २३ माघ । सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा राजनीतिक दलको पक्षमा भोट मागेको आरोपमा पर्सामा कार्यरत एक प्रहरी हवल्दारमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पक्षमा चुनावी प्रचार गर्दै फेसबुकमा भोट मागेको पाइएपछि प्रहरी हवल्दार श्यामनारायण पटेल कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतले पटेलले प्रहरी नियमावली र निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पुष्टि गर्नुभयो ।

“उहाँले फेसबुकमार्फत एउटा राजनीतिक दलको प्रचार गर्दै भोट मागेको पाइएको छ,” डीएसपी बस्नेतले भन्नुभयो, “प्रहरी संगठनको मर्यादा र निर्वाचन आचारसंहिता उल्लंघन गरेको देखिएकाले उहाँलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ ।”

पटेल जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै एउटा प्रहरी युनिटमा कार्यरत थिए । निर्वाचनको समयमा सुरक्षाकर्मीहरू कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा लाग्न वा प्रचारप्रसारमा सहभागी हुन नपाउने कानुनी व्यवस्था छ ।