काठमाडौँमा ‘टोलटोलमा फिल्म’ महोत्सव, २६ असारसम्म विभिन्न चोक र डबलीमा प्रदर्शन गरिँदै
काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाको अग्रसरतामा महानगरका विभिन्न टोल तथा चोकहरूमा ‘टोलटोलमा फिल्म’ नामक चलचित्र महोत्सव सुरु भएको छ। काठमाडौँ फिल्म फेस्टिभल (केएफएफ) अन्तर्गत आयोजना गरिएको यो विशेष महोत्सव गत असार ५ गतेदेखि सुरु भई आगामी असार २६ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सव काठमाडौँका विभिन्न ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका डबली तथा सार्वजनिक क्षेत्रहरू जस्तै खुलामञ्च, असन, सुन्धारा परिसर, बागबजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगनटोल र कीर्तिपुर महाविहारमा सञ्चालन भइरहेको छ। यो सिर्जनात्मक महोत्सव चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, नेपाल फिल्म एकेडेमी र युनेस्कोको साझेदारीमा आयोजना गरिएको हो।
महोत्सवका व्यवस्थापक आयुषा श्रेष्ठका अनुसार मानिसहरूलाई एकआपसमा जोड्ने, मौलिक कला-संस्कृतिको संवर्द्धन गर्ने र रैथाने चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सवको थालनी गरिएको हो। “खुलामञ्चबाट सुरु भएको यस महोत्सवले आम सर्वसाधारणलाई सिर्जनात्मक कला र चलचित्रप्रति आकर्षित गरिरहेको छ,” व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो।
यस सडक सिनेमा यात्राले काठमाडौँका परम्परागत चोक र डबलीहरूलाई पुनः सांस्कृतिक जमघटको केन्द्र बनाउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ।