दार्चुला प्रहरी हवल्दार मृत्यु प्रकरण: थप एक आरोपित पक्राउ, तीन अझै फरार
दार्चुला, २८ माघ । दार्चुलाको बङ्गाबगडस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले फरार रहेका राजेन्द्र डडाललाई मङ्गलबार साँझ नौगाडबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार डडाल घटनालगत्तै फरार भएका थिए र उनलाई लुकिछिपी भाग्ने क्रममै पक्राउ गरिएको हो ।
यो प्रकरणमा प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएको छ । यसअघि प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी हवल्दार घर्तीको मृत्युमा संलग्न रहेको भनिएका अन्य तीन जना भने अझै फरार रहेका छन् । फरार हुनेहरूमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल रहेका छन् । उनीहरूको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरी अनुसन्धान र खोजी कार्यलाई तीव्र पारेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत हवल्दार घर्तीको रहस्यमय मृत्यु भएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिँदै अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।