प्रत्यक्षतर्फका उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको निर्देशन
काठमाडौँ, २८ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन घोषणापत्र बुझाउन निर्देशन दिएको छ । उम्मेदवारहरूले फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा घोषणापत्र पेस गर्नुपर्नेछ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ मा भएको व्यवस्था बमोजिम आयोगले यो निर्णय गरेको हो । आयोगका शाखा अधिकृत (कानुन) अरुण अधिकारीका अनुसार प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी त्यसको एक प्रति निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन पत्राचार गरिएको छ ।
आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूलाई प्राप्त हुने घोषणापत्रहरूको व्यवस्थित अभिलेख राखी सोको विवरण केन्द्रमा पठाउन समेत निर्देशन दिएको छ ।
यसअघि नै आयोगले चुनावमा सहभागी हुने सबै राजनीतिक दलहरूलाई पनि फागुन ३ गतेभित्रै दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरिसकेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तथा उम्मेदवारका प्रतिबद्धताहरूलाई आधिकारिक रूपमा अभिलेखबद्ध गर्न आयोगले यो कदम चालेको हो ।