निर्वाचन लक्षित गर्दै बैतडीमा मदिरा बिक्री र ओसारपसारमा कडाइ, साँझ ७ बजेपछि बेच्न रोक

बैतडी, १० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडी प्रशासनले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार, फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि साँझ ७ बजेपछि मदिरा बिक्री–वितरण गर्न पाइने छैन । स्थानीय व्यवसायीहरूसँगको छलफल र सहमतिपछि मदिराको उपभोगलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

यसैगरी, प्रशासनले फागुन ११ देखि २४ गतेसम्म जिल्लाभर मदिरा ढुवानी तथा ओसारपसार गर्नसमेत रोक लगाएको छ । निर्वाचनको मौन अवधि सुरु भएपछि भने मदिराको बिक्री–वितरण र सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ ।

प्रशासकीय अधिकृत थारूले नियमको पालना गर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै भने, “मदिराजन्य वस्तुको बिक्री–वितरण र ओसारपसारलाई नियमन गर्ने निर्णय भएको छ । यदि कसैले यो निर्णयको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ ।”

यस आसन्न निर्वाचनका लागि बैतडी जिल्लाबाट ११ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।