‘माइक काटेको’ रविको आरोपमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्तिः “कुन नैतिकताले भोट माग्दै हुनुहुन्छ ?”

काठमाडौँ, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र निवर्तमान सभामुख देवराज घिमिरेबीच चुनावी वाकयुद्ध सुरु भएको छ। झापामा आयोजित एक कार्यक्रममा लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने’ भन्दै आलोचना गरेपछि घिमिरेले त्यसको कडा शब्दमा खण्डन गरेका छन्।

झापाको बिर्तामोडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले निवर्तमान सभामुख घिमिरेप्रति लक्षित गर्दै प्रश्न गरेका थिए, “जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ?”

लामिछानेको उक्त अभिव्यक्तिको निवर्तमान सभामुख घिमिरेले एक प्रेस नोट जारी गर्दै आपत्ति जनाएका छन्। चुनावी प्रतिस्पर्धामा घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने कुरा लामो समय नटिक्ने भन्दै उनले लामिछानेको भनाइप्रति खेद प्रकट गरेका छन्।

संसद्मा माइक काटिने विषय सभामुखको व्यक्तिगत चाहनाले नभई संसद्को नियमावली र समयसीमाका आधारमा हुने घिमिरेले स्पष्ट पारेका छन्।

“संसदीय अभ्यासअनुसार सबै वक्ताहरूलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण गरिएको हुन्छ,” घिमिरेले प्रेस नोटमा भनेका छन्, “यो कुरा संसद्को अभ्यास गरेर आउनुभएका उहाँ (रवि) ले नबुझ्ने कुरै भएन। संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ– उपसभामुख वा अन्य माननीयले सभाको अध्यक्षता गरिरहेका बेलामा पनि माइक काटिएको छ।”

आफूमाथि लगाइएको आरोपको जवाफ दिने क्रममा घिमिरेले लामिछानेको कानुनी हैसियत र नैतिकतामाथि नै उल्टै प्रश्न उठाएका छन्। उनले भनेका छन्, “तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु– आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ?”

साथै, घिमिरेले आफूमाथि प्रतिशोध साँधिएको भन्दै जनतालाई भावनामा बगाएर अरूविरुद्ध अफवाह र लाञ्छना नलगाउन लामिछानेलाई अपिलसमेत गरेका छन्।

विघटित प्रतिनिधिसभाका सभामुख रहेका घिमिरे आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *