सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा सुचारु राख्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ, १८ फागुन । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिनहरूमा पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैङ्कले फागुन १८ गते परेको होली पर्व र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बैङ्किङ कार्यालयहरू खुला राख्न निर्देशन जारी गरेको हो ।

केन्द्रीय बैङ्कद्वारा जारी निर्देशन अनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेछ । विशेष गरी निर्वाचनको सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारहरूको निर्वाचन खर्चका लागि खोलिएका खाताहरूको सञ्चालन, नगद तथा चेकको दाखिला र भुक्तानी जस्ता सेवाहरूमा बाधा नपुगोस् भनी राष्ट्र बैङ्कले यस्तो व्यवस्था मिलाउन भनेको हो ।

फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले उक्त दिन राजनीतिक दल र उम्मेदवारलाई आवश्यक पर्ने विनिमय साधनहरूको सहज उपलब्धताका लागि बैङ्कहरू पूर्ण रूपमा सञ्चालनमा आउनुपर्नेछ । यस निर्णयले निर्वाचनको समयमा हुन सक्ने वित्तीय चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ