भक्तपुरबाट अत्याधुनिक हतियार र गोलीगट्ठासहित एक युवक पक्राउ
भक्तपुर, १९ फागुन । भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट अत्याधुनिक हतियार र गोलीगट्ठासहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट सादा पोसाकमा खटिएको टोलीले छापा मारेर हतियारसहित ती व्यक्तिलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार, पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका ३१ वर्षीय आयन सेढाईं रहेका छन्। उनलाई सूर्यविनायक–८ कै सिपाडोलस्थित गणेश बस्तीबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले खानतलासीका क्रममा सेढाईंको साथबाट एक थान सेल्फ लोडिङ राइफल (इन्सास) र त्यसमा प्रयोग हुने ४ राउन्ड लाइभ गोली बरामद गरेको छ।
यसका अतिरिक्त उनको साथबाट एक राउन्ड रबरको गोली, सटगनमा प्रयोग हुने एक राउन्ड गोली, एउटा खुकुरी र एउटा बन्चरोसमेत बरामद गरिएको डीएसपी जबेगुले जानकारी दिए।
यति ठूलो मात्रामा हतियार र गोलीगट्ठासहित पक्राउ परेका सेढाईंले उक्त हतियार के प्रयोजनका लागि र कहाँबाट ल्याएका हुन् भन्ने खुल्न सकेको छैन। पक्राउ परेका उनीमाथि हतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।