दार्चुलामा निर्वाचन ड्युटी सकेर फर्किँदै गरेका प्रहरीको भीरबाट लडेर मृत्यु
दार्चुला, १९ फागुन । निर्वाचनको ड्युटी सकेर घर फर्किने क्रममा दार्चुलामा भीरबाट लडेर एक जना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार, निर्वाचनको काम सम्पन्न गरी बिहीबार घर फर्किँदै गर्दा धामी लेकम गाउँपालिका–१ स्थित भीरबाट खसेका थिए।
भीरबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी थप उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा आज (शुक्रबार) उनको निधन भएको प्रहरीले जनाएको छ।